काठमाडौं, जेठ १७। सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको छ। योसँगै काठमाडौं उपत्यकामा मंगलबारदेखि मेलम्चीको खानेपानी वितरण बन्द गरिएको छ।
सिन्धुपाल्चोकस्थित मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएकाले टनेलको सुरक्षाका लागि भन्दै मंगलबारदेखि उपत्यकामा मेलम्ची खानेपानीको मूलढोका बन्द गरिएको जनाइएको छ।
मूल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ। शाखाले खानेपानी वितरण तालिका हेरफेर गरी नयाँ सूचना जारी गर्नेसमेत जनाएको छ। बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ।




