काठमाडौँ, जेठ १६ । तारा एयरको ट्विनअटर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ। दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी रहेको छ।
चालक दलका तीन सदस्य सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतिविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयबासीको टोलीले भेटाएका हुन्।
कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगिरहेका छन्।




