डडेल्धुरामा एक युवती मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ ।
यही असार २ गते स्वास्थ्य सामग्री पुर्याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामीको शनिबार स्थानीय हट्वानी सामुदायिक वनमा शव फेला परेको थियो ।
परशुराम नगरपालिका-८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएको घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली खटाइएको जानकारी दिए।
उनका अनुसार सोही घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोली पनि खटाइएको छ । आरआईटीका नायब निरीक्षक पदम थापाको कमाण्डमा टोली परिचालन गरिएको उनले जानकारी दिए । दुवै टोली आइतबार बिहानमात्र धनगढीबाट डडेल्धुरातर्फ हिँडेका हुन् ।
मृतकको शरीरमा बाहिरी देखिने चोट पटक नदेखिए पनि हत्याको आशङ्कामा अनुसन्धान अगाडि बढाइएको बताए । शव परीक्षणको रिपोर्ट प्राप्त भएपछि अनुसन्धानमा सहयोग पुग्ने विश्वास प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले घटनास्थलको मुचुल्का उठाउने कार्य सकेर शव परीक्षणका लागि अहिले जोगबुढा अस्पतालमा राखिएको जानकारी दिए ।




