काठमाडौं, जेठ ११ । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। कोलकाता स्थित इडेन गार्डेन मैदानमा मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।
जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.३ ओभरमा तीन विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो। गुजरातको जितमा डेविड मिलर अविजित ६८ रन बनाए। कप्तान हार्दिक पान्डेयले अविजित ४०, शुभमन गिलले र म्याथ्यु वेडले समान ३५ रन बनाए। बलिङमा राजस्थानका ओबेद म्याकोय र ट्रेन्ट बोल्टले एक एक विकेट लिन सफल भए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो। राजस्थानका ओपनर जस बटलरले सर्वाधिक ८९ रन बनाए। सन्जु स्यामसनले ४७ र देवदत्त पाडिक्कलले २८ रन बनाए।
गुजरातका मोहम्मद शामी, यश दयाल, हार्दिक पान्डेय र रविश्रीनिवासन साई किशोरले एक एक विकेट लिन सफल भए।




