काठमाडौं, जेठ १० । भरतपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताएकी छन्। अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उनले महानगरवासीलाई निराश हुन नदिने बताइन्।
पालिका तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताएकी छन्। उनले भनिन्, ‘देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु’, उनले भनिन्, ‘स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतैतर्फ लाग्छु।’
पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उनले बताइन्।




