काठमाडौं,बैशाख १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरुले पनि नेपालीले सरह हवाइ भाडा भुक्तानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन्।
शुक्रवार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो कुरा बताएका हुन्। उनले नेपालीहरु विदेशमा जाँदा त्यहाँका नागरिकसरह नै भाडा तिर्ने गरेको भन्दै नेपालमा पनि विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक रहेको बताए।
उनले नेपालका लागि इजरायलका राजदूत हनान ओदारसँगको भेटमा राजदूत ओदारले भाडा समान नभएको गुनासो गरे। मन्त्री आलेले राजदूतसँगको भेटमा अहिले कोरोनाको मारमा रहेकोले तत्काल सो समस्या सम्बोधन गर्न नसकिने जानकारी गराए । मन्त्री आलेले आन्तरिक वायुसेवा कम्पनीहरुलाई टिकट बिक्री गरेअनुसारकै समयमा उडान भर्न पनि निर्देशन दिएका छन्।




