काठमाडौं, बैशाख १५ । प्रशिक्षक अब्दुल्ला अलमुताइरी असन्तुष्ट राष्ट्रिय खेलाडीको समूहले आज पत्रकार सम्मेलन गर्ने भएको छ। खेलाडीहरुले बिहीबार साँझ राजधानीको एक होटलमा साँझ ५ः०० बजेका लागि पत्रकार सम्मेलन राखेका छन्।
पटक पटक विवादमा पर्दै आउका अलमुताइरीसँग खेलाडीको विवाद भने पहिलो पटक सार्वजनिक भएको हो। एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको फुटबल टोलीका ९ सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मंगलबार प्रशिक्षण क्याम्प छाडेका थिए।
राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छोड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरी प्रशिक्षकसँग त्यसबारे छलफल गरेका थिए। प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छोड्न भनेपछि अन्य खेलाडीले पनि मंगलबार क्याम्प छोडेका थिए।
रोहितसँगै सिनियर खेलाडीहरु सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामा लगायत खेलाडी बुधबार टोलीसँग थिएनन्। एन्फा नेतृत्वलाई खेलाडीले यसबारे जानकारी दिएको बताइएको छ। खेलाडीले प्रशिक्षण छाडेको विषयमा एन्फाले अहिले सम्म आधिकारिक जानकारी दिएको छैन।




