काठमाडौं, बैशाख १४ । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा एउटा अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ। द न्युयोर्क टाइम्सका अनुसार ७६ वर्षीया सुकीलाई ६ लाख डलर बराबरको नगद र २५ पाउन्ड जति सुन घुसका रूपमा लिएको भन्दै बुधबार पाँच वर्ष जेल सजाय हुने फैसला सुनाएको हो।
यसअघि उनलाई गैरकानुनी रूपमा वाकीटकी राखेको भन्दै चार वर्ष जेल सजाय सुनाइएको थियो। त्यसअघि सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा पनि अदालतले उनलाई दोषी ठहर गरेको थियो।
२०२१ को फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने उनका मुद्दाको बन्द कोठाभित्र सुनुवाइ भइरहेको छ।
सुकीविरूद्ध सेनाले १७ वटा आपराधिक मुद्दा दायर गरेको छ। सैनिक कूभन्दा केही महिनाअघि २०२०को नोभेम्बरमा भएको आमचुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले बहुमत ल्याएको थियो।




