काठमाडौं, बैशाख १४ । बुटवलमा तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको छ।
बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी भएको हो। उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको व्यवसायीहरूले पत्रकार सम्मेलन मार्फत बताएका छन्।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान सुरू गरिएको छ। पसल राख्न भन्दै घर भाडामा लिएर उक्त व्यक्तिहरूले चोरी गरेको आशंका छ। योगेन्द्र अग्रहरिको घर भाडामा लिएर उनीहरूले कपडा पसल राख्न डेकोरेसनको कामसमेत थालेका थिए।
भारतीय नागरिकहरू चोरीमा संलग्न रहेको आशंका गरिएको छ। कपडा पसल राख्न भाडामा लिएकै घरमा सुन पसल पनि थियो। सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले यो चोरीको घटना रूपन्देहीमा अहिलेसम्मकै ठूलो भएको बताए।




