काठमाडौं । बरिष्ठ अभिनेत्री बसुन्धरा भुसालले ३ लाख २० हजार रुपैयाँ ‘चलचित्रकर्मी कल्याणकारी कोष’ मा हस्तान्तरण गरेकी छिन् ।६ महिनाअघि अमेरिका पुगेकी भुसालले भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरूबाट प्राप्त उक्त रकम कोषमा सहयोग गरेकी हुन् ।अमेरिका बस्दै आएका लोकगायक प्रेमराजा महत,दिलीप रायमाझी, रञ्जना शर्मा, अरुणिमा लम्साल, पूजा लामा, राजु लामा, सारगा श्रेष्ठ लगायतका कलाकारले कोषका लागि सहयोग गरेका थिए । बसुन्धरा
भुसालले उक्त रकम चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल तथा सदस्य–सचिव महेन्द्रप्रसाद साँखीलाई हस्तान्तरण गरेकी हुन् ।
समस्यामा परेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधिउपचार गर्ने, आपतकालीन अवस्थामा सहयोग गर्ने तथा मृत्युपरान्त काजकिरियामा सहयोग गर्ने लगायतका उद्देश्यले कोषको स्थापना गरिएको हो । उक्त कोषमा हाल ४ करोडभन्दा धेरै रकम जम्मा भएको छ ।चलचित्र विकास बोर्डले सुरु गरेको कोषमा भुसाल संयोजकको भूमिकामा रहेकी छिन् ।




