काठमाडौं, बैशाख ११ । कैलालीको कैलारी गाउँपालिका-७ मा रहेको मुक्त कमैया शिविरमा आगलागी भएको छ। गहुँको नलमा लगाइएको आगो गएर मुक्त कमैया बस्तीमा सल्केको हो।
आगलागीबाट ७३ मध्ये धेरै घर जलेर नष्ट भएका छन्। खर र टिनको छानो भएको बस्तीमा आगलागी हुँदा ठूलो क्षति भएको हाे। आगलागीबाट अन्नबालीका साथै बङ्गुर, पशु चौपायासहित धनसम्पत्ती जलेर नष्ट भएको अध्यक्ष चौधरीको भनाइ छ। उहाँका अनुसार धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र गौरीगङ्गा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएकाे छ।
दिउँसोदेखि लागेको आगो अपराह्न नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए। आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। ५० देखि ६० घर जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको उनको भनाइ छ।




