काठमाडौं, वैशख ११ । राजस्व अनुसन्धान विभागले राजस्व चुवाहट गरेको आरोपमा पाँचजना विरुद्ध ३६ करोड रुपियाँ सजाय दाबीसहित मुद्दा दर्ता गरेको छ। शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट गर्ने मनसायले नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजस्व चुवाहट गरेको भन्दै विभागले मुद्दा दर्ता गरेको जनाएको छ। यी कम्पनीहरुले आय विवरणहरु तयार गरी मूल्य अभिवृद्धि कर नतिरेको दाबी विभागको छ।
विभागले यी पाँचजना उपर ३६ करोड ११ लाख ३७ हजार २८६ रुपियाँ सजाय दाबीसहित मुद्दा दर्ता गरेको विभागका सूचना अधिकारी दिपेश लेखकले जानकारी दिए। काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल स्थायी बसोबास गर्ने श्री शुभलक्ष्मी इन्टरनेशनल, गणपति ट्रेड लिंक, एच.बि.ट्रेड एण्ड सप्लायर्स र एम. के. इन्टरनेशनल कम्पनीबाट कारोवार गर्ने मनिषकुमार अग्रवाल, काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल स्थायी बसोवास गर्ने एचबि ट्रेड एण्ड सप्लायर्स, साझेदार तथा गणपति ट्रेड लिंक सञ्चालक र एम के इन्टरनेशनल कम्पनीका कारोबारमा संलग्न हितेषकुमार अग्रवाल, काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर ३ सितापाइला स्थायी बसोवास भई काठमाडौं महानगरपालिका १३ वाफल चंखुमार्ग बसोबास गर्ने एमके इन्टरनेशनलका सञ्चालक प्रमित महर्जन रहेको उनले बताए।




