काठमाडौँ, चैत १९ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अपराजित रहदै नेपाल फाइनल प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले हराएको हो।
दुई सय २४ रनको विशाल विजय लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३८ रनमा समेटिन पुग्यो। मलेसियाका लागि ओपनर भिरेनदीप सिंहले सर्वाधिक ४७ रन बनाउनुभयो। कप्तान अहमद फैजले ३३, अईनुल हाफिजले १८ र सयद अजिजले १७ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए। कमल ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा कुशल भुर्तेल र रोहित पौडेलले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २२३ रनको विशाल योगफल प्रस्तुत गरेको थियो। नेपालका मध्यक्रममा आएका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित शतकीय इनिङ्स खेलेपछि घरेलु टोलीले विशाल लक्ष्य प्रस्तुत गरेको हो। ऐरीले अविजित ११० रन बनाए। उनले ५७ बलमा १० चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो।
नेपालका रोहित पौडेलले पनि ५१ रनको अर्धशतकीय इनिङ्स खेले। ३४ बलको सामना गर्नुभएका पौडेलले पाँच चौका हानेका थिए। ओपनरद्वय आशिफ शेख १८ र कुशल भुर्तेल १२ रनमा आउट हुन पुगे। आदील अन्सारीले १४ रन बनाए।
बलिङमा मलेसियाका लागि मुहमद वाफिक, पवनदीप सिंह, मुहमद अमिर र साजरुल इद्रुसले एक एक विकेट लिए। उपाधिका लागि नेपालले सोमबार पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्नेछ। मलेसिया नेपालसँग पराजित भएपछि पीएनजीले नेट रनरेटका आधारमा मलेसियालाई पछि पारेको हाे। अपराजित नेपालले चार खेलबाट आठ अंक बनायो। पीएनजी र मलेसियाले दुई दुई अंक बनाए।




