काठमाडौं, चैत १७ । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा नेपालले पिएनजीलाई २०४ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पिएनजीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २०३ रन जोड्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। १८ ओभरको सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्काको मद्दतले ६६ रन बनाए। यस्तै डेब्यू खेलाडी आदिल अन्सारीले आक्रामक ब्याटिङ गर्दै ११ बलमा ३१ रन जोडे। उनले १ चौका र ३ छक्का प्रहार गरे।
नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख ३८ रन जोडे। कुशलले २० बलमा २ चौका हिर्काए। आसिफले २९ बल खेलेर ४ चौका र १ छक्का हिर्काए। रोहित पौडेल ४१ रन जोडेर आउट भए। उनले २३ बलमा ४ चौका र ३ छक्का हिर्काए।
बलिङमा पिएनजीका कुबाआ मोरिआले ३ विकेट लिए। उनले सबै विकेट अन्तिम ओभरमा हात पारेका थिए। उनले अन्सारीलाई ३१ रनमा एलबिडब्लूको धरापमा पार्दा करण केसी र दिलीप नाथलाई शून्यमा आउट गरे।
यसअघि नेपालले लगातार दुई खेलमा जित हात पारेको थियो। आजको खेलमा जित हात पारे नेपाल फाइनलमा पुग्नेछ।




