काठमाडौं, चैत १६ । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ।
१ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए।
गतवर्ष नेदरल्यान्ड्सविरुद्ध डेब्यू खेलमा आसिफले ५४ रनको इनिङ खेलेका थिए। त्यसपछि टि२० आईमा उनको पहिलो अर्धशतक हो। दीपेन्द्रसिंह ऐरी १७ बलमा १ चौका र १ छक्कासहित २१ रनमा आउट भए। ओपनर कुशल भुर्तेल स्पिनर पवनदीप सिंहको बलमा ठूलो सट खेल्नेक्रममा लङअनमा विरनदीप सिंहबाट १ रनमा क्याच भए।
पवनदीपले नै चौथो ओभरको अन्तिम बलमा रोहित पौडेललाई १२ रनमा एलबीडब्लू आउट गरे। तेस्रो विकेटका लागि दीपेन्द्र र आसिफले ७० रनको साझेदारी गर्दै नेपाललाई सहज जितको आधार तय गरेका हुन्। टि२० आईमा डेब्यू खेल खेलेका विकेटकिपर दीलिप नाथ ७ बलमा ३ चौकासहित १५ रनमा अविजित रहे भने कुशल मल्लले २ रन जोडे।
मलेसियाका बायाँ हाते स्पिनर पवनदीप सिंहले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। सैद अजिज र मुहम्मद आमिरले १–१ विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो। मलेसियाका ओपनर ओपनर जुबैदी जुल्किफ्लले १५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए। नेपालका तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पहिलो बलमै मलेसिया ओपनर तथा प्रमुख ब्याटर विरनदीप सिंहलाई शून्यमा बोल्ड आउट गर्दै राम्रो सुरुवात दिलाएका थिए। बायाँ हाते स्पिनर कुशल मल्लले जुबैदीलाई सातौं ओभरको पाँचौं बलमा जुबैदीलाई बोल्ड गर्दै दोस्रो सफलता दिलाए। मलेसिया मध्यक्रमका प्रमुख ब्याटर सैद अजिज १४ रनमा क्याच आउट भए । दीपेन्द्रसिंह ऐरीको १२ औं ओभरको सुरुवाती चार बल लगातार डट खेलेका अजिज पाँचौं बलमा मिडअनमा सन्दीपबाट क्याच भए। अर्को ओभरमा सन्दीपको बलमा कप्तान अहमद फैज लङअफमा कुशल मल्लबाट २४ रनमा क्याच भए । उनले ३८ बलमा ३ चौका प्रहार गरे।




