काठमाडौं, चैत १५ । क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टि२० क्रिकेट (टि२० आई) मा विश्व कीर्तिमान बराबर गरेका छन्। कुशल त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत सोमबार पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध २० रनमा आउट भएका थिए। सुरुवाती २ रन जोड्दा कुशलले १२ टि२० आई इनिङमा करिअरको ५ सय रन पूरा गरेका थिए।
कुशलले टि२० आईमा सर्वाधिक छिटो ५ सय रन पूरा गर्ने कीर्तिमान बराबर गरेका हुन्। कुशलले इंग्ल्यान्डका बायाँ हाते स्टार ब्याटर डेविड मलान र अफगानिस्तानका युवा स्टार हज्रतुल्लाह जजाईसँगको विश्व कीर्तिमान बराबर गरेका हुन्। कुशल अघि टि२० आईमा मलान र जजाईले पनि सुरुवाती १२ इनिङमा ५ सय रन पूरा गरेका थिए।
भारतीय ओपनर लोकेश राहुल, विराट कोहली, रोहित शर्मा, वेस्टइन्डिजका क्रिस गेल, पाकिस्तानका बाबर आजम, अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र आरोन फिन्च जस्ता विश्व चर्चित खेलाडीले हात पार्न नसकेको उपलब्धी कुशलले पारेका हुन् । राहुलले १३ इनिङमा पूरा गरेका थिए । उनी सबैभन्दा छिटो ५ सय रन पूरा गर्ने खेलाडी सुचिमा दोस्रो स्थानमा छन्।
कुशलले गतवर्ष नेदरल्यान्ड्सविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए। कुशल डेब्यू सहित सुरुवाती तीन खेलमा लगातार तीन अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी हुन्।




