काठमाडौं, चैत १४ । त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपालले विजयी सुरुआत गरेको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.२ ओभरमा अलआउट हुँदा १ सय ६८ रनमै समेटिन पुग्यो। उसका लागि नोरमान भानुअले सर्वाधिक ५२ रनको अर्धशतकीय योगदान दिए। केवल २९ बलको सामना गरेका उनले ४ छक्का ५ चौका प्रहार गरे। त्यस्तै सेसे बाउले ३०, चार्ल्स अमिनीले २२ तथा लेगा सिआकाले २१ रन जोडे।
बलिङतर्फ नेपालका कप्तान सन्दिप लामिछाने र करन केसीले समान ३ विकेट लिए। अबिनाश बोहराले २ विकेट लिँदा सोमपाल कामीको हातबाट पीएनजीका एक खेलाडी शिकार भए।
यस अघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए। आक्रामक सुरुवात गरेका ओपनर कुशल भुर्तेल १ छक्का र ३ चौका प्रहर गर्दा रन आउट हुन पुगे। तेस्रो ओभरको तेस्रो बलमा उनी २० रन बनाउँदै पभेलियन फर्किए।
दोस्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गरेपछि नेपालले ठुलो स्कोर खडा गरेको हो । आसिफले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए । रोहितले ३४ रन बनाए। चाड सोपरको बलमा एज लागेर क्याच हुनु अघि उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे। आरिफ शेखले २२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाए। करण केसीले १४ र कुशल मल्लले ११ रन जोडेबाहेक अरुले दोहोरो अंकको स्कोर खडा गर्न सकेनन्।
पीएनजीका चार्ल्स अमिनी, अलेइ नाओ र चाड सोपरले २/२ विकेट लिए। नोरमान भानुअ र रिले हेकुरेले १/१ विकेट हात पारे । अब नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।




