काठमाडौं, चैत १४ । त्रिदेशिय टी-२० श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले ९ विकेट गुमाएर १८३ रन बनाएको हो। आक्रमक सुरुवात गरेको नेपालले तेस्रो ओभरमै विकेट गुमाउन पुग्यो। ओपनर कुशल भुर्तेलले इनिङ्सको पहिलो बलमै छक्का प्रहार गर्दै नेपाललाई आक्रमक सुरुवात दिलाएका थिए। तर तेस्रो ओभरमा कुशल रनआउट हुन पुगे। कुशलले ११ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २० रन बनाए।
त्यसपछि अर्का ओपनर आसिफ शेख र रोहित कुमार पौडेलले नेपालको इनिङ्स अघि बढाए। यी दुईले ९ ओभरमा दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरे। तर १२औं ओभरमा आसिफ आउट भएपछि नेपालले लगातार विकेट गुमायो।
आसिफले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए। अर्को ओभरमा रोहित पौडेल आउट भए। उनले २६ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ३४ रन बनाए। त्यसपछि दीपेन्द्र सिंह ऐरी ४, कुशल मल्ल ११ र लोकेश बम ५ रनमा आउट भए।
१६ औँ ओभरमा करण केसीले नर्मन भानुअलाई २ छक्का प्रहार गरे पनि अर्को ओभरमा करण केसी ७ बलमा १४ रन बनाएर आउट भए। अन्तिम ओभरको पाँचौ बलमा आरिफ शेख ३२ रन बनाएर आउट भए। उनले २२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे।
पीएनजीका लागि अलेइ नाओ र चाड सपर र चार्ल्स अमिनीले २-२ तथा नर्मन भानुअ र रिले हेकुरेल १-१ विकेट लिए।




