काठमाडौं, चैत ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनाका दोषीमाथि कानूनी कारबाही हुने प्रतिबद्धता जनाएका छन्।
मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले लेटाङमा शान्ति स्थापनार्थ खटिएकी प्रहरी जवानको हत्याको छानवीन गरी दोषीमाथि कारबाही गरिने बताएका हुन्। शान्ति, सुरक्षा सरकारको दायित्व भएको भन्दै देउवाले प्रहरीको हत्या भएको विषयमा सरकारले कानुनी कारबाही अगाडि बढाउने बताएका हुन्।
लेटाङस्थित एक विद्यालयमा शिक्षकले विद्यार्थीमाथि यौन दूराचार गरेको आरोपमा दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएको समूहको आक्रमणबाट एक महिला प्रहरीको मृत्यु भएको थियो। देउवाले शान्ति सुरक्षा कायम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए।




