काठमाडौँ, चैत ४ । जिल्ला अदालत तनहुँले नाबालिगमाथि बलात्कार अभियोगको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
तनहुँ जिल्ला प्रहरी कार्यालयले उनीमाथि अनुसन्धानको काम नसकिएको भन्दै थप समय मागेपछि अदालतले थप ५ दिनको समय प्रदान गरेको हो। फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि नै दुई पटक म्याद थपिएको थियो।
तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो। तर शाहमाथि नवलपुरमा समेत जबरजस्ती करणी मुद्दा दर्ता भएकाले गत फागुन २४ गते उनलाई अनुसन्धानका लागि नवलपुर लगिएको थियो। अनुसन्धानको काम नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत समय थप्न माग गरेको हो ।




