काठमाडौँ, चैत २ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले जितेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा बुधबार भएको खेलमा दुई सय पाँच रनको विजय लक्ष्य पछ्याएको नेपालले ४९.२ ओभरमा आठ विकेटको क्षतिमा दुई सय १० रन बनायो।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ५८ रन बनाए भने आरिफ शेखले ५३ रन बनाए। एकदिवसीय क्रिकेटमा रोहित र आरिफले एक सय दुई रनको कीर्तिमानी साझेदारीसमेत बनाएका छन् । करण केसीले अविजित २९, आशिफ शेखले १६, विनोद भण्डारीले १२, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान आठ-आठ रन बनाए। बलिङमा पीएनजीका अलेई नाओ, नोरमान भानु र रिले हेकुरेले दुई दुई विकेट लिए भने असद भाला र चद सोपरले एक एक विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनाएको थियो। पीएनजीका लागि चार्ल्स अमिनीले ५९ , चद सोपरले ३५, ओपनर टोनी उराले २७, लेगा सियकाले २५, नोरमान भानुले २३ र असद भालाले १९ रन बनाए।
बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिन सफल भए। कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान एक एक विकेट लिए। लिग–२ मा नेपालले नौ खेल खेल्दै पाँच जित र चार हार खेपेको छ। १० अंक बनाएको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा यथावत छ। नेपाल लिगमा कम खेल खेल्ने टोली पनि हो । पीएनजीले भने अहिलेसम्म खाता खोल्न सकेको छैन।




