काठमाडौं, चैत २ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तरगत आज पपुवा न्युगिनीसँग खेल्दैछ। नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समय अनुसार बिहान ११ स् १५ मा युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुदैछ।
नेपाल पपुवा न्युगिनीमाथि सहज जित निकाल्दै अंक तालिकामा महत्वपूर्ण २ अंक थप्न चाहन्छ। पपुवा न्युगिनी विश्वकप लिग–२ मा पहिलो जित निकाल्ने सोचमा छ। तुलनात्मक रुपमा पपुवा न्युगिनी विश्वकप लिग–२ को सबैभन्दा कमजोर टोली हो। नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारका साथ छैटौं स्थानमा छ। पपुवा न्युगिनी १३ खेलमानै पराजित हुँदै पुछारमा छ।
नेपालले गत सेप्टेम्बरमा पपुवा न्युगिनीलाई दुई ओडिआई सिरिजमा २ विकेट र १ सय ५१ रनले हराएको थियो। स्पिनर सन्दीप लामिछानेले यसै खेल मार्फत ओडिआईमा डेब्यू कप्तानी गर्नेछन्। सन्दीप पारस खड्का र ज्ञानेन्द्र मल्लपछि ओडिआईमा कप्तानी गर्ने तेस्रो नेपाली खेलाडी हुनेछन्। सन्दीपले पपुवा न्युगिनीविरुद्ध पहिलो खेलमा ४ र दोस्रो खेलमा ६ विकेट लिएक थिए । सन्दीपबाट कप्तानीमा पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ।




