काठमाडौं, चैत १ । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आज मंगलबारदेखि भारतको जमसेदपुरमा सुरु हुँदैछ। यू–१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्दैछ।
खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजे हुनेछ। घरेलु टोली भारतलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल रहेको छ। तर, बलियो भारतविरुद्ध नेपाललाइ जित निकाल्न सहज भने छैन। यता, घरेलु टोली भारत पनि नेपाललाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रनेछ। डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ। च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ।
दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ। यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका छ। शीर्ष टोलीले उपाधि जित्नेछ। नेपालीको टोलीको कप्तानी प्रिती राईले गर्नेछिन्। उनले सिनियर टोलीबाट पनि अनुभव बटुलिसकेका छन् । यू–१८ टिमका मुख्य प्रशिक्षक दर्शन भक्त राज लावतले बिहीबार २३ सदस्यीय टोली घोषणा गरिसकेका छन्। टोलीको सहायक प्रशिक्षकमा भगवती थापा रहँदा गोलकिपिङ प्रशिक्षकमा श्रीप्रकाश वैद्य रहेका छन्।




