काठमाडौ, फागुन ३० । मदनभण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकामा जन्ती बोकेको ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। साथै दुर्घटनामा परि अन्य २४ जना जन्ती घाइते भएका छन्।
सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली बाणीगाउँबाट आइतबार राति उदयपुरको कटारीतर्फ जन्ती लिएर जाँदै गरेको ना३ख ७४९० नम्बरको ट्रिपर सिर्थौली नजिकै ठाकुर खोला पुलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार दुर्घटनामा परी उदयपुरको कटारी नगरपालिका–२ निवासी २४ वर्षीय अजय दनुवार र सोही ठाउँका १९ वर्षीय दिपेन्द्र कुमरको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनाको सिन्धुली अस्पताल र अर्का एक जनाको सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो।
बेहुला, बेहुलीको भने छुट्टै गाडिमा भएकाले दुर्घटनाबाट जोगिएका छन्। अन्य छ जना घाइतेको अवस्था गम्भीर रहेको छ। घाइतेमध्ये सात जनाको उपचारका लागि विराटनगरको न्यूरो अस्पताल, चार जनाको काठमाडौं, एक जनाको कटारीको सगरमाथा अस्पताल र दुई जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । १० जना भने सामान्य उपचारपछि घर फर्किएका कार्यालयले जनाएको छ।




