काठमाडौं, फागुन २७ । स्पिनर सागर ढकाल र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङको सहयोगमा श्रीलंका संयुक्त–११ ले अभ्यास खेलमा नेपाललाई २ सय ३३ रनको मध्यम लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको संयुक्त–११ ले ४८.२ ओभरमा २ सय ३२ रनमा सबै विकेट गुमायो। संयुक्त ११ को लागि अनुक फ्रेर्नान्डोले ६९ बलमा सर्वाधिक ५६ रन बनाए। ओपनर सान्दुन विराक्कोडीले ४८ बलमा ४९ रनमा आउट हुन पुगे।
ओपनर दिलसान मुनाविरा र सान्दुन विराक्वोडीले पहिलो विकेटका लागि १० ओभरमा कुनै विकेट नगुमाई ६१ रन बनाउँदै राम्रो सुरुवात दिलाए। मुनाविरा २६ बलमा १४ रनमा आउट भए। श्रीलंका पूर्व कप्तान उपुल थरंगा ११ बलमा ३ रन र थिसेरा परेरा १३ बलमा ८ रनमा बनाए। तल्लोक्रमका ब्याटर फ्रेनान्डोले अर्धशतकीय इनिङका साथ टोलीलाई मध्यम योगफलमा पुर्याए। कुमारस्वामी ३० र दिलरुवान परेरा १४ रनमा आउट भए।
नेपालका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। बायाँ हाते स्पिनर सागर ढकालले ९ ओभरमा २ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामीले ९ ओभरमा ५५ रन खर्चेर २ विकेट लिए। सन्दीप लामिछानेले ९.२ ओभरमा ६१ रन खर्चेर १ विकेट लिए। आरिफ शेखले ६ ओभरमा १ मेडनसहित २२ रन खर्चेर १ विकेट लिए।




