काठमाडौँ, फागुन २६ । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ। बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी– ६ की अञ्जना कटुवाल र मादी– ५ की दीक्षा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। यसैगरी, चार जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो। बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो। बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायव उपरीक्षक सुवेदीले जानकारी गराए।




